जानी राखौं, वर–पीपलको औषधीय गुण

वर–पीपल भन्नेबित्तिकै हामी चौताराका ठूला रुख सम्झन्छौं । जहाँ गर्मीमा शीतलता पाउन तथा गलेका वेला थकान मार्न बसिन्छ । तर, तिनै वर–पीपलका पात, बोक्रा र फल विभिन्न रोगका औषधि हुन्छ भन्ने कमैलाई मात्र थाहा हुन्छ । वर : वरको फल, पात, बोक्रा र त्यसमा आउने दुधिलो चोपमा औषधीय गुण हुन्छ । यसको स्वाद टर्रो हुन्छ । जसले शीतलता प्रदान गर्छ । औषधीय उपयोग : यसको दूध पोसिलो र धेरै रोग नाश गर्ने खालको हुन्छ । बोक्रा पौष्टिक र बलवीर्य बढाउने खालको हुन्छ । महिनावारी गडबडी हुने महिलाले वरको फल नियमित खाए राम्रो गर्छ । साह्रो दिसा लाग्ने ग्यास्ट्रिक, पायल्स र आन्द्राको घाउ भएका तथा मधुमेहका बिरामीलाई यसले फाइदा गर्छ । यसले रगतमा भएको विकार पदार्थ हटाउनसमेत मद्दत गर्छ । मुखमा घाउ खटिराको संक्रमण भएमा ठीक गर्छ । सुन्निएको र ज्वरो आएका बेलामा राम्रो हुन्छ ।
प्रयोग मात्रा : धुलो–१–१ चम्चा ३ ग्राम दूधमा मिसाएर दिनको दुईपटक खाने । या १–२ ग्राम धुलो बनाएर बिहान–बेलुका सेवन गर्दा राम्रो हुन्छ । त्यस्तै झोल बनाएर सेवन गरे १०–१५ थोपा दिनको दुईपटक सेवन गर्ने । पीपल : वरजस्तै पीपलमा पनि औषधि गुण पाइन्छ । यसको पनि फल, पात र बोक्रा औषधि मानिन्छ । यसको स्वाद पनि वरको जस्तै मिठो केही टर्रो, शीतलता दिने हुन्छ । औषधीय उपयोग : पीपलको फलले पित्तरोग, कब्जियत, पेटको घाउ, पायल्स, आन्द्रा खुम्चने समस्यामा फाइदा गर्छ । यसको सेवनले हल्का दिसा लगाउन सहयोग गर्नुका साथै पोषणयुक्त पनि हुन्छ । दमरोग भएकाले यसको फलको चूर्ण(धुलो) सेवन गर्दा कम गर्छ । त्यस्ता रोगीले फलचूर्ण एक चम्चा बिहान–बेलुका खानुपर्छ । पीपलको बोक्रालाई धुलो बनाइ सेवन गर्दा शक्ति दिन्छ । यसले धातुरोग, जोर्नी दुख्ने, पेट दुख्ने\पोल्ने, गानो–गोला, मधुमेह, निम्न रक्तचाप, दुब्लोपन, मासिक धर्म समयमा नहुने, रगतको खराबी, छालाको रोग, शरीरमा गिर्खा आउने, भिरिंगी आदि रोग भएकाहरुलाई सन्चो गराउँछ । पीपलको बोक्रालाई डढाएर सुन्निएको ठाउँमा लगाउँदा कम गराउँछ । यसको कलिलो नयाँ पात १–२ पटक पशुलाई खान दिने हो भने पशुको पेटमा परेको नाम्ले किरा झर्छ । पातले आँखाको ज्योति बढाउँछ । पीपलको रुखले राम्रो अक्सिजन दिन्छ । सेवनको मात्रा बोक्राको धुलो आधादेखि एक चम्चा, फल १० ग्राम, पात २० ग्राम दिनमा दुईपटक खाने गर्नुपर्छ । –नयाँ पत्रिका दैनिकबाट
Loading...